साभारित स्याउको कथा :-
एकजना राजा थिए । उनले एउटा सर्वे गराउने विचार गरेछन् कि उनको राज्यमा कति जनाको घर गृहस्थीमा श्रीमानको हुकुम चल्छ अनि कतिको घरमा श्रीमतीको हुकुम चल्छ । उनले पुरस्कारको घोषणा पनि गरेछन् " जसको घरमा पतिको हुकुम चल्छ उसले मनपर्ने घोडा इनाम पाउनेछ र जसको घरमा पत्नीको हुकुम चल्छ, उसले इनाममा स्याउ पाउनेछ ।"
एक एक गर्दै सबै नगरवासीहरुले स्याउ उठाउँदै जान थाले । राजालाई चिन्ता भयो "के मेरो राज्यमा सबै घरमा पत्नीको मात्र हुकुम चल्छ त?" त्यही समयमा एकजना लामालामा जुङ्गा पालेको, मोटोघाटो मान्छे आयो र भन्यो " महाराज मेरो घरमा मेरो मात्रै हुकुम चल्छ , त्यसैले घोडा मलाई दिनुस् ।"
राजा खुशी भए । कमसेकम एउटा व्यक्ति त मिल्यो जसको घरमा पतिको हुकुम चल्छ । उसलाई उसले रोजेको कालो घोडा दिएर पठाए । त्यो व्यक्ति घोडा लिएर घर गयो तर एकछिन पछि घोडा लिएर दरबारमा फर्केर आयो ।
राजा: "किन फर्केर आयौ ?"
जवान व्यक्ति : " महाराज, मेरी श्रीमती भन्छिन् कि कालो रङ्ग अशुभ हुन्छ, सेतो रंग शान्तिको प्रतीक हुन्छ । उनले मलाई सेतो रंगको घोडा लिएर आउनू भनेकी छन्, त्यसैले तपाईं मलाई सेतो रंगको घोडा दिनुस् ।"
राजा: हे जवान! लु घोडा राख र स्याउ लिएर जाऊ ।"
मध्यरातमा राजाको कोठामा महामन्त्री आइपुगे । राजाले यति राति आउनुको कारण सोधे ।
महामन्त्री : " महाराज तपाईंले स्याउ र घोडा ईनाममा राख्नुभयो । त्यसको ठाउँमा यदि एक टन धान या सुन इनामको रुपमा राख्नुभएको भए मान्छेहरुलाई केही दिन खान पुग्थ्यो या उनीहरुले सुनको गहना बनाएर लगाउन सक्थे ।"
राजा : "म पनि यही इनाम राख्न चाहन्थें तर महारानीले भनिन् कि स्याउ र घोडा नै ठीक छ, त्यसैले यही नै राखें ।"
महामन्त्रीले भने ," महाराज तपाईंका लागि स्याउ काटिदिऊँ?"
राजाले हाँस्दै महामन्त्रीलाई सोधे:" तिमी यो प्रश्न मलाई भोलि दरबारमा या भोलि बिहान पनि सोध्न सक्थ्यौ नि मध्यरातमै किन सोध्न अायौ?"
महामन्त्री: "महाराज, मेरी धर्मपत्नीले राजाले स्याउ र घोडा नै इनाममा किन राखे भनेर अहिले नै गएर पत्ता लगाएर आउनु भनेकीले म आएको हुँ ।"
राजा ( बिचैमा रोकेर): "महामन्त्री स्याउ अहिले यहीं आँफै खान्छौ कि घर पठाइदिऊँ?"
Comments
Post a Comment